राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप

राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप

काठमाडौँ — नेकपाका महासचिव नेत्रविक्रम चन्दले बेपत्ता नागरिकसम्बन्धी मुद्दामा राज्य संवेदनहीन बनेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा महासचिव चन्दले शान्ति प्रक्रियाको १९ वर्षपछि पनि राज्यले जिम्मेवारी नलिएर बेपत्ता परिवारप्रति उपेक्षा आरोप लगाएका हुन् ।

चन्दले बेपत्ता नागरिकका छानबिन आयोगहरू बारम्बार गठन र विघटन हुनु राजनीतिक षड्यन्त्र र जालसाजीको संकेत भएको टिप्पणी गरे । 'यो १९ वर्षमा शान्ति प्रक्रियाको सवालमा यो राज्य संवेदनहीन रुपमा देखा पर्यो ।

माओवादीसँग सम्बन्धित मान्छेलाई मात्र परेको कुरा वा बेपत्ता योद्धाको परिवारलाई परेको पीडा मात्र होइन । एउटा निष्पक्ष र न्यायिक दृष्टिले हेर्ने न्यायवादी, मानवतावादी, मानव अधिकारवादी र सचेत नागरिक सबैलाई के परेको छ भने बरु छलफल निष्पक्ष गरे हुन्छ तर यो त टुंग्याउनुपर्ने विषय हो नि । यस विषयमा राज्य किन यति धेरै लापर्बाही बनेको ? किन जवाफदेहीविहीन बनेको ?,' उनले सोधे ।

नेपालमा गुलामीको संस्कृति भित्रिरहेको उल्लेख गर्दै उनले राजनीतिक आन्दोलनको माध्यमबाट स्वाधिनतामा झार्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

Share this article: